काठमाडौँ । भ्वाइस अफ चिल्ड्रेनले सोमबार अनलाइनमार्फत हुने बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहभागी वक्ता तथा सहभागीले सामाजिक सन्जाल फेसबुक, म्यासेन्जर, टिकटक, युट्युब, भाइबर, ट्विटर, ह्वाट्सएप, ईमो, इन्स्टाग्राम, नेटफ्लिक्स आदि प्रयोग गरी बालबालिकाको शारीरिक, मानसिक, शैक्षिक, नैतिक, सामाजिक विकास तथा अवस्थामा असर पर्ने क्रियाकलापहरू भइरहेकाले त्यसको न्युनिकरणका लागि साझा प्रयास आवश्यक रहेको बताएका थिए ।
भ्वाइस अफ चिल्ड्रेनका निर्देशक कृष्ण कुमार थापाले पछिल्लो समय अनलाइनको माध्यमबाट सबैभन्दा बढी बालबालिका यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका बताएका छन् । नेपाल प्रहरी केन्द्रीय साइबर ब्युरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा बालक ५६ र बालिका ५२ जनाले साइबर अपराधमा उजुरी गरेका छन् ।
त्यस्तै १० देखि १८ वर्षसम्मका बालबालिकाहरू धेरैजसो फोन वा मेसेजद्वारा यौनजन्य सन्देश, भिडियो र फोटो पठाउने, नग्न फोटो र भिडियो प्रयोग गरी धम्क्याउने र फकाउने, लोभ देखाउने तरिकाबाट दुर्व्यवहारमा पर्ने गरेको भ्वाइस अफ चिल्ड्रेनले जनाएको छ ।














