Friday, October 2, 2026
Home राजनीति राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्यालको मनोनयन दर्ता

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्यालको मनोनयन दर्ता

41

काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गरेकी छन्। आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्यालले आफ्नो उम्मेदवारी दर्ता गरेकी हुन्।

अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक रहेका छन् । राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल सर्वसम्मत हुने देखिएको छ। नेपाली काँग्रेससहित अरू विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेसँगै अर्याल सर्वसम्मत हुने सम्भावना बढेको हो। नेकपा (एमाले) का सांसद सुवास नेम्वाङले उपाध्यक्ष माओवादीलाई दिने विषयमा सहमति भएको बताए।

अर्याल एक वर्षअघि भएको निर्वाचनमा माओवादीको तर्फबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन्। २०७० सालमा माओवादी प्रवेश गरेकी अर्याल त्योभन्दा पहिला एमालेमा सक्रिय थिइन्। उनी २०६३ मा एमालेको तर्फबाट महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेकी थिइन्। अर्याल २०७० र २०७४ मा नेकपा माओवादी केन्द्रको तर्फबाट पर्सामा उम्मेदवार बनेकी थिइन्।उनी अहिले नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुन्।