श्रीमतीको बैङ्क खाता विवरण सार्वजनिक भएपछि…..

126

काठमाडौँ । आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैङ्क खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।

बैङ्क खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन् । बैङ्क खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ ।

गृह जिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन् । ‘मेरो श्रीमान्ले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाव दिने म्यासेज र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ’, उनले भनिन् ।

उनले भनिन्, ‘मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रूपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोग स्वरूप रकम जम्मा भएको होला, तर मलाई जथाभाबी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।’ उनले आफ्नो गोपनीयता भङ्ग गर्ने बैङ्क र कर्मचारीलाई काठमाडौँमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन् । सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैङ्कको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिन सटहरू पोस्ट भइरहेको छ ।