मुस्लिमलाई पुनः मधेशीको सुचीमा राख्न आग्रह

45

काठमाडौँ । मुस्लिम आयोगले मधेसी आयोगलाई मुस्लिमलाई पुनः मधेसीकै रूपमा सिफारिस पाउनको लागि आवश्यक व्यवस्थापन गरिदिन अनुरोध गरेको छ । मुस्लिम आयोगले मधेसी आयोगलाई एक पत्र पठाउँदै मधेसी आयोगले मुस्लिमलाई मधेशीको सूची बाट हटाएपछि मुस्लिमहरूले मधेशीको सिफारिस पाउन अवरोध देखिएको भन्दै सो अवरोधलाई हटाइदिन अनुरोध गरेको हो ।

मधेसी आयोग द्वारा प्रकाशित ‘मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन २०७८’ मा १४९ जात सहित थारु र मुस्लिम लाई पनि मधेशीको रूपमा सूचीकृत गरिएको थियो । प्रतिवेदन राष्ट्रपति समक्ष पेस भएपछि मुस्लिम र थारु आयोगका पदाधिकारीहरूसहित सो समुदायका विभिन्न सङ्घ-संगठनहरुले मधेसी आयोगको सो निर्णय प्रति व्यापक विरोध गरेपछि आयोगले मङ्सिर २० गते बैठक बसी थारु र मुस्लिम लाई मधेशीको सूची बाट हटाएको थियो ।

मधेशीको सूचीबाट मुस्लिमलाई हटाएपछि अहिले लोक सेवा लगायत विभिन्न निकायहरूमा प्रतिस्पर्धा गर्न मुस्लिम समुदायलाई सम्बन्धित निकायबाट मधेशीको सिफारिस पाउन अवरोध देखिएको कुरा मुस्लिम आयोगको पत्रमा उल्लेख गरिएको छ । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तका अनुसार मधेसी आयोगले सुरुवातमा सबैलाई समेटेर नै आयोग अगाडी बढ्न खोज्दा सोही समुदाय र सम्बन्धित समुदायका आयोगका पदाधिकारीहरूबाट व्यापक विरोध भएपछि आयोग बाध्य भएर थारु र मुस्लिमलाई मधेशीको सुची बाट हटाएको थियो ।