वाम एकताको प्रक्रिया राष्ट्रपतिको चुनावपछि

38

काठमाडौँ । वाम एकताको प्रक्रिया राष्ट्रपतिको चुनावपछि मात्रै हुने भएको छ । राष्ट्रपतिको चुनाव फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते हुने कार्यतालिका बनाएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि वाम एकता हुने गरी सार्थ छलफल हुने सम्भावना कम देखिएको हो ।

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने गरी धेरै चरणमा छलफल भई सकेका छन् । दुवै पार्टीवीच एकता गर्न माओवादीबाट कृष्णबहादुर महरा र नेसपा सह अध्यक्ष गङ्गानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता टोली सघन संवाद गरिरहेका छन् ।

अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराई तहबाट छलफल गरेर टुङ्ग्याउन मात्रै बाँकी छ । तर, तत्काल दुई पार्टीवीच एकता गर्ने विषयमा मोटामोटी समझदारी बनिसके पनि थोरै समय लाग्ने देखिएको नेसपा नेता श्रेष्ठले बताए ।

श्रेष्ठले भने, ‘अहिले पार्टीका बैठक, सरकार र राष्ट्रपतिको चुनावले गर्दा धेरै छलफल र बहस गर्न पाएको छैन । हामीले प्राप्त समय पनि दिन पाएका छैनौँ । अब राष्ट्रपतिको चुनावपछि समय पनि हुन्छ, त्यसपछि पार्टी एकताले पूर्णता पाउन सक्छ ।’ आफूहरूले फागुन मसान्तसम्म पार्टी एकता गर्ने योजना बनाएकाले निर्धारित समयमा पुरा गर्ने लक्ष्य बनाएको श्रेष्ठले बताए ।

अहिले माओवादी स्थायी समिति बैठक गत माघ १२ गतेदेखि चलिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पार्टी बैठकलाई समय दिन नसक्दा प्राप्त छलफल हुन सकेको छैन ।