संसद् सचिवालयबाट पत्र आएपछि मात्र प्रक्रिया चाल्छाैँ: आयाेग

57

काठमाडाैँ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाकाे निर्वाचनमा चितवन-‍२ बाट निर्वाचित सांसद् रवि लामिछानेकाे सांसद् पद खारेज भएसँगै साे क्षेत्र सांसदविहीन भएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट साे क्षेत्रमा विजयी सांसद् लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेकाे करिब एक महिना लाग्दा सर्वाेच्च अदालतले उनी नेपाली नागरिक नभएकाे पुष्टि गरेसँगै उनी पद तथा जिम्मेवारीबाट च्यूत भएका हुन्।

शुक्रबार सर्वाेच्चले गरेकाे फैसलासँगै पद तथा जिम्मेवारीबाट राजीनामा दिएका लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडाैँबाट नागरिकता लिने तयारीमा छन्। नागरिकता लिएसँगै साेही क्षेत्रबाट पुन:उम्मेदवारी दिने तयारीमा लामिछाने देखिन्छन्। यद्यपि निर्वाचन आयाेगले भने यसकाे लागि समय लाग्ने बताएकाे छ। निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार अदालतले फैसला गरे पनि उपनिर्वाचनका लागि निर्वाचन आयाेगलाई संसद् सचिवालबाट कुनै पत्र आएकाे छैन्।

‘रविकाे नागरिकता अवैध भएकाे भन्ने सम्मानित सर्वाेच्च अदातलबाट फैसला भयाे भन्ने तपाईंहरूकै मिडियाबाट जानकारी पाइएकाे हाे’,  उनले भने, ‘उप-निर्वाचनका लागि संसद् सचिवालयले निर्वाचन आयाेगलाई पत्र पठाउनुपर्ने हुन्छ। त्यसपछि आयाेगले अध्ययन गरेर समय निर्धारण गर्ने हाे। हालसम्म कुनै पत्र आएकाे छैन। शुक्रबार साँझ निर्णय भयाे, शनिबार सार्वजनिक बिदा भयाे। आज आइतबार आउन सक्ला पत्र। पत्र आएपछि मिति निर्धारण हुन्छ।’