न्याय सम्पादनमा समस्या

43

जलेश्वर । महोत्तरी जिल्लाको स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या भएको छ । जिल्लाको गाउँपालिका तथा नगरपालिकामा उपाध्यक्ष-उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीले न्यायको अनुभूति गर्न नसकेको जलेश्वर नगरपालिका– २ का शिवचन्द्र चौधरीले गुनासो गरे ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको दोस्रो कार्यकालको नौ महिना बित्नलाग्दा पनि नागरिकले न्याय सम्पादन र विकास निर्माणका काममा सहजरुपमा सेवा नपाएको र  न्यायिक समितिले  पनि जिम्मेवारीपूर्वक काममा तदारुकता नदेखाउँदा समस्या भोग्नुपरेको मनरासिस्वा नगरपालिका– १ का रविन्द्र भगतले बताए । 

संविधानको धारा २१७ मा स्थानीय तहमा मुद्दा हेर्ने अधिकार गाउँ तथा नगरका उपाध्यक्ष-उपप्रमुखलाई तोकिए पनि सम्बद्ध पदाधिकारीले  प्रभावकारीरूपमा काम गर्न नसक्दा स्थानीय तहमा गठित न्यायिक समिति नाम मात्रको भएको पिपरा गाउँपालिका– ४ का भोगी कापरको भनाइ थियो ।