Sunday, September 27, 2026
Home समाज १०१ थान राहदानीसहित २ जना पक्राउ

१०१ थान राहदानीसहित २ जना पक्राउ

25

काठमाडौँ । प्रहरीले १०१ थान राहदानी र चारित्रिक प्रमाणपत्रसहित दुई जनालाई पक्राउ गरेको छ । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको राहदानी १ सय १ थान र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका–७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौँबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि ब्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शङ्कास्पद रूपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो ।

थप सोधपुछको क्रममा उक्त राहदानीहरू रोमानियामा भिसा स्ट्याम्पिङ गर्नको लागि लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिसा स्ट्याम्पिङ निर्णय फाराम पेस गरेकोमा सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फाराममा उल्लेखित विवरण भएको राहदानीहरू र निजहरूको साथबाट बरामद भएको राहदानीहरूको विवरण फरक पर्न आएको बताइएको छ ।