आज सरस्वती पूजाकाे दिन मन्दिरहरूमा घुइँचो, नासलचोकमा वसन्त श्रवण (फाेटाेफिचर)

59

काठमाडौं । आज सरस्वती पूजा, काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ। आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।

सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएकाले आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउन बिहानैदेखि मन्दिरहरुमा घुइँचो लागेको हो। याे दिन वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।

स्वयम्भू, मैतिदेवी, हनुमानढोकासहितका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो लागेको छ। बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा चकले लेखेर अक्षरारम्भ गरेका छन्।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो।

संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आजकै दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ। सरस्वतीलाई महाविद्या, महावाणी, भारती, वाक्, शारदा, आर्या, ब्राह्मी, कामधेनु, वेदगर्भा, धीश्वरी नामले समेत सम्बोधन गरिन्छ।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ।