मुगु । मुगुलगायत कर्णालीका जिल्लाहरूमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै सोमबार रातिदेखि लगातार हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ ।
लगातारको हिमपातले मुगुको पूर्वी भेगका वडा , खत्याड गाउँपालिकाको खमाले,सेरी, कवा,चाकपाडे,लमेरा,कोटिल्लालगायत,सोरु गाउँपालिकाको, सोरुकोट,धैना,कालै,रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, वाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायत क्षेत्रको जनजीवन कष्टकर बनेको हो ।
हिमपातको कारण नेपालगञ्ज, सुर्खेतबाट मुगु आउने सवारी साधनहरू रोकिएका छन् । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरू पनि निकै समस्यामा परेका छन् । अघिल्लो हिउँदमा पुस पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिनापछि हिमपात सुरु भएको छ ।