खोटाङ । खोटाङमा विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता किशोरी मृत फेला परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रेकी १७ वर्षीय रञ्जिता दाहाल सोमबार बिहान घरनजिकै खन्युको फेदमा मृत फेला परेकी हुन् ।
आइतबार दिउँसो घर फर्कनेक्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । बालिका महेन्द्रोद्धय मावि हलेसीमा कक्षा १० मा अध्ययनरत थिइन् । ३ पुसदेखि विद्यालयमा आयोजना गरिएको नगर स्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् ।
प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साँढे तीन बजेतिर घर फर्केकी थिइन् । बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी वालिका घरभन्दा करिब दुई सय मिटर टाढा मृत फेला परेकी हुन् । घटनास्थलमा पातलो सलको टुक्रा घाँटीमा र एक टुक्रा सल रुखको हाँगामा रहेको अवस्थामा शव भेटिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए । ओठ, आँखा, घाँटीमा चोट देखिएकाले घटनालाई शङ्कास्पद मानिएको वडाध्यक्ष गिरीले बताए ।