इन्भेष्टमेन्ट र मेगा बैङ्कको एकीकृत कारोबार सुरु

53

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैङ्क र मेगा बैङ्क लिमिटेड एकापसमा गाभिएसँगै आजदेखि ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका छन् ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैङ्कका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार सुरु भएको घोषणा गरे ।

दुई बैङ्क गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको चुक्ता पुँजी ३४ अर्ब १२ करोड, कुल सम्पत्ति चार खर्ब ७१ अर्ब र कूल पुँजी ५८ अर्ब पुगेको छ । त्यस्तै कूल निक्षेप तीन खर्ब ६० अर्ब र कूल कर्जा तीन खर्ब २९ अर्ब रहेको बैङ्कले जनाएको छ ।

मर्जरपछि यो बैङ्कको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटिएम दुई सय ७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैङ्कले जनाएको छ ।

दुई बैङ्कबिच शेयर स्वाप अनुपात १००ः ९० रहने गरी मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कको अध्यक्षमा साबिक इन्भेष्टमेन्ट बैङ्कका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।

नयाँ सञ्चालक समितिमा दुवै बैङ्कका सञ्चालकको प्रतिनिधित्व रहने छ । त्यसमा इन्भेष्टमेन्ट बैङ्कका तर्फबाट प्रजन्य राज भण्डारी र कविकुमार टिब्रेवाला तथा मेगा बैङ्कका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् ।