म्याद थपेर पनि काम सम्पन्न नगर्नेलाई कारबाही सुरु

22

भजनी । कैलालीमा सञ्चालन भएर पटक-पटक म्याद थप भएर पनि काम सम्पन्न हुननसकेका निर्माण कम्पनीलाई टीकापुर नगरपालिकाले कारबाही सुरु गरेको छ । गत आर्थिक वर्षसम्म आयोजनाको सम्झौता भएर चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म काम सम्पन्न गर्न नसकेका आयोजनाको काम नसकेका निर्माण कम्पनीलाई जरिवाना लाग्ने गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । 

कार्यपालिकाको निर्णयबाट आयोजनाको म्याद थप नहुने निर्णय गरेपछि काम सम्पन्न हुननसकेका आयोजनाको म्याद थप नहुने र नियमानुसारको जरिवाना तिरेर काम गर्न बाध्य भएका छन् । नगरपालिकामा समयमा काम सम्पन्न गर्न नसकेका जरिवानामा परेका नौवटा आयोजनाको काम गरिरहेका छ निर्माण कम्पनीले जरिवाना तिर्न थालेका हुन् ।

 समयमा काम गर्न नसकेका राजन निर्माण सेवा टीकापुर, सन्तोष विल्डर्स अछाम, रसुन निर्माण सेवा, भट्टराई कन्स्ट्रक्सन प्रालि, युकि विल्डर्स टीकापुर, सन्तोष विल्डर्स टीकापुर रहेका छन् । जरिवाना परेका निर्माण कम्पनीले आयोजनाको सम्झौता लागतको शून्य दशमलव शून्य पाँच प्रतिशत रकम दैनिक तिर्नुपरेको छ । त्यति गर्दा पनि काम सकिएन तर आयोजनाको सम्झौता भन्दा दश प्रतिशत रकम जरिवाना बापत भुक्तानी हुने अवस्था देखिएमा सम्झौता नै तोड्नुपर्ने प्रावधान रहेको नगरपालिकाका इन्जिनियर नवराज जोशीले बताए ।