दाहाल सरकारको पहिलो निर्णय

55

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने पहिलो काम भएको बताएका छन् । नयाँ सरकार गठन भएपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री दाहालले बताएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकपछि दाहालले नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताए ।

अबको सरकारले सुशासन कायम गर्ने बताएका प्रधानमन्त्री दाहालले राहदानी, लाइसेन्समा आम सर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्ने कुरा पनि पहिलो प्राथमिकतामा रहेको बताए ।  प्रधानमन्त्री दाहालले गम्भीर रूपले देश र जनताका समस्याहरूको सम्बोधन गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । जनतामा आम रूपमा एउटा आशा र भरोसा बढेको देखिएको उनको भनाई छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्‌मा आएका सबैको केही नयाँ काम गर्ने हुटहुटीले गर्दा आफू स्वतन्त्र भएर देश र जनताको लागि काम गर्ने स्पष्ट पारे । सोमबार अपराह्‌न राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री पदको शपथग्रहण गरेका प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछानेले पनि पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।