राती ११ बजेपछि फिल्म देखाउन हललाई अनुमति

31

काठमाडौं । चलचित्र विकास बोर्डले एकसाता अघि नै फिल्म सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेको छ । सोमबारको बोर्ड बैठकले रिलिजको चार दिनअघि नै सिफारिस लिनुपर्ने निर्णय गरेको हो ।

प्रदर्शक संस्था चलचित्र संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्दै विरोधमा उत्रिएको बेला भुवन केसीको अध्यक्षतामा बसेको बोर्ड बैठकले सेन्सरको नियममा लचिलो बन्ने निर्णय गरेको हो ।

राती ११ बजेपछि फिल्म प्रदर्शन गर्न चाहने हल संचालकले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरेर प्रदर्शन गर्न सक्ने निर्णय पनि बोर्डले गरेको छ । ‘उक्त समयमा फिल्म प्रदर्शन गर्नु परे बोर्डलाई जानकारी गराए हुने निर्णय भएको छ’ जारी वक्तव्यमा उल्लेख छ ।

यसअघि राती ११ बजेसम्म सकिने गरी फिल्म प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।