महिला तथा बेरोजगार युवालाई क्षमता अभिवृद्धि तालिम

181
dav

-केके मानन्धर
भक्तपुर । भक्तपुरको टिगनीमा महिला तथा बेरोजगार युवा लक्षित क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ९ को लागत साझेदारीमा श्री नीलबाराही महिला समुहले १५ दिने तालिम सञ्चालन गरेको हो ।

तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले स्थानिय महिला तथा युवाको लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने कार्यक्रम आवश्यक रहेको जनाए । ‘हाम्रो नगरपालिकामा यस्ता थुप्रै कार्यक्रमहरु हुने गरेका छन् । अझ एउटै व्यक्तिले एक भन्दा बढी तालिममा सहभागी भएर सीप र क्षमता विकास गरेका छन् । अब तालिमबाट सिकेको ज्ञानलाई उपयोग गरी उद्यमशील बन्न आग्रह गर्दछु ’ उपप्रमुख श्रेष्ठले भने ।

त्यस्तै, वडा नं. ९ का वडाध्यक्ष सानुकाजी राजबाहकले लक्षित वर्ग पहिचान गरी सञ्चालन भइरहेको तालिमले ठोस उपलब्धि हुने विश्वास व्यक्त गरे । उद्घोषण, सिलसिला मिलाएर बोल्ने शैली, नेतृत्व विकास, संस्थागत संरचना र उद्यमशीलता विकास लगायतका शिर्षक रहेको तालिमबाट महिलाहरुले पारिवारिक र सामाजिक नेतृत्व गर्ने क्षमतामा सुधार ल्याउने बताए ।

‘हामीले तालिम कार्यक्रममा ३० जना मात्र समेट्ने भनेका थियौं । तर कार्यक्रमप्रति यति धेरै आकर्षण रह्यो कि पचास भन्दा बढी सहभागीहरु उत्साही भएर दैनिक रुपमा आइरहेका छन्’ संयोजक रेणु श्रेष्ठले बताइन् । स्थानिय महिला, युवा तथा बेरोजगारहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए । मुख्य स्रोत व्यक्ति सञ्चारकर्मी केके मानन्धर, उद्यमशीलतर्फका प्रशिक्षक सुमिना मानन्धर तथा लक्ष्मी श्रेष्ठ तालिम कार्यक्रममा सहजीकरणको भूमिकामा छन् । बोडेदेखि नीलबाराही जाने बाटोमा पर्ने नीलकण्ठेश्वर मन्दिरको सभाहलमा पुस १ देखि सञ्चालन भइरहेको तालिम कार्यक्रम पुस १५ गते समापन हुँदैछ ।