काठमाडौं–तराई द्रुतमार्गः राष्ट्रिय गौरवको आयोजनामा अलमल

51

काठमाडौं । वि.स २०४९ सालमा डेनिस सहयोग नियोगबाट काठमाडौं–तराई–मधेस दु्रतमार्ग आयोजनाका लागि सम्भाव्यता अध्ययन गरिएको थियो । देशको राजधानीलाई पूर्वी भू–भाग र तराईसँग जोड्ने वैकल्पिक राजमार्ग बनाउने सोचअनुरुप निर्माणाधीन काठमाडौं–तराई–मधेस दु्रतमार्ग सुरु भएको हो । तर, विविध कारणले यसको निर्माण कार्य हुन सकेको छैन् । ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने उक्त द्रुतमार्गको लम्बाइ ७२.५ किलोमिटर छ । महादेवडाँडा, धेद्रे र लेनडाँडामा करिब छ दशमलव ४१ किमी दोहोरो सुरुङसहितको द्रुतमार्गमा साना र ठूला गरी ८७ पुल रहने छन् । ती पुलको लम्बाइ १० दशमलव ५९ किमी हुनेछ । पुल र सुरुङबाहेक सडकखण्ड ५५ दशमलव पाँच किमी रहनेछ । द्रुतमार्ग सडक ललितपुरमा सात दशमलव नौ किमी, काठमाडौंमा चार, मकवानपुरमा ५३ र बारामा सात दशमलव छ किमी पर्छ ।

आर्थिक वर्ष २०७४र७५ मा सुरु भएको उक्त दु्रतमार्ग आयोजना २०८१ सालको पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको कूल लागत रु एक खर्ब ७५ अर्ब १९ करोड ३६ लाख अनुमान गरिएको छ । आयोजनाको हालसम्मको वित्तीय र भौतिक प्रगति करिब २० प्रतिशत छ । आयोजनाका लागि गत आवसम्म रु ३७ अर्ब ९६ करोड खर्च भइसकेको छ । हाल नेपाली सेनाले जिम्मेवारी लिएको यो मार्ग समयमै निर्माण हुन सकिरहेको छैन् । यदि ०८१ सालभित्रमा निर्माण सम्पन्न हुने हो भने देशलाई ठुलो फाइदा हुने थियो । पुल र सुरुङ मार्ग बनाउने कामको ठेक्का प्रत्रिक्रया समयमै हुनेहो भने यसको लाभले नेपाललाई आर्थिक फाइदा हुने देखिन्छ । समयमै काम नभए र अलमल हुने हो भने देशलाई नोक्सानी मात्र हुनेछ ।