अब प्लास्टिकका झोला प्रयोग गर्न निषेध

23

धनगढी । धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोला प्रयोग गर्न निषेध गरेपछि व्यवसायी प्लास्टिकको विकल्प खोज्न थालेका छन्। नगर स्वच्छताका लागि भन्दै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लास्टिकका झोला बेच्न र सामान राखेर दिन बन्द रोक लगाएको छ।

उपमहानगरले प्लास्टिकका झोला बन्द गरेपछि कपडाका झोला छपाउन दिएको व्यवसायी चन्द्र जैशी बताउँछन्। प्लास्टिकको सट्टामा कपडाको झोला बनाएर ग्राहकलाई सामान दिने तयारी गरेको उनले बताए।

प्लास्टिकको सट्टामा प्रयोग हुने कपडाको झोला पुनः प्रयोग गर्न मिल्ने भएका कारण एक पटक ग्राहकलाई झोला दिँदा सो झोला धेरै पटकसम्म प्रयोग गर्न मिल्ने उनी बताउँछन्। बजार क्षेत्रमा ठेलामा घुम्ती व्यवसाय गर्दै आएका व्यवसायी पनि प्लास्टिकको झोलाको सट्टामा कपडाको झोला प्रयोग गर्ने तयारी गरिरहेका छन्।

उपमहानगरपालिकाले विकल्प नदिँदा प्लास्टिकका झोला पटक हटाउन समस्या भएको होटेल व्यवसायी सुधिर भट्टले बताए। ‘प्लास्टिक बन्द गर्नु राम्रो हो,’ उनले भने, ‘तर प्लास्टिकको झोलाको सट्टामा के प्रयोग गर्ने भन्ने कुरा पहिला नै भनेको भए राम्रो हुने थियो, एकैपटक प्लास्टिक बन्द गर्दा ग्राहकले अर्डर गरेको सामग्री दिन समस्या भइरहेको छ।’