काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. ३ मा टिपरले ठक्कर दिएर घाइते भएका एक युवकलाई आक्रमण गरी हत्या गरेको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज विरोध प्रदर्शन गरेका छन् । पीडित परिवारलाई न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुले आज बिहान र्याली निकालेर प्रदर्शन गरेका हुन् ।
त्रिचन्द्र क्याम्पसका विद्यार्थी तारकेश्वर नगरपालिका ३, पाँचमाने निवासी २१ वर्षीय सविन फुयाँललाई मंसिर २५ गते राति ९ बजे महालक्ष्मी एण्ड बलामी सप्लायर्सको बा५ख ६७७९ नम्बरको टिपरले ठक्कर दिएको थियो । त्यसपछि टिपरका चालकलगायतले फुयाँलको घाँटीमा साबेलले आक्रमण गरेर हत्या गरेको पीडित परिवारको दाबी छ । ‘टिप्परले ठक्कर दिएपछि कर्तव्य गरेर मारेको भन्ने हाम्रो निष्कर्ष हो, दोषीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्छ,’ मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले भने ।
घिमिरेका अनुसार दुर्घटनास्थलभन्दा करिब २० मिटर पर बालुवामा शव गाड्न लाग्दा स्थानीयले देखेपछि टिपरवालाहरु भागेका थिए । उनले टिपरको स्टेरिङ, अगाडिको हृयाण्डल र चक्कामा रगतका टाटा देखिएको भन्दै दुर्घटनापछि कर्तव्य गरी हत्या गरेको भन्ने आफूहरुको निष्कर्ष रहेको बताए ।