काठमाडौँ । एसियन हाइड्रोपावर लिमिटेडले मङ्गलबारदेखि आईपीओ निष्कासन गर्दैछ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।
जसमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं.११ का स्थानीय बासिन्दाका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकका इलाम जिल्लाका अन्य क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दाका लागि बाँकी २ लाख ४ हजार कित्ता सेयर रहेको छ।
यसका साथै सर्वसाधारणमा निष्कासन हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता साधारण सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीका लागि निष्कासन गर्न लागेको हो।