विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरु

67

काठमाडौं । जिल्लाको माडी नगरपालिकाले नगरभित्र रहेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि निःशुल्क यातायात सेवा सुरुआत गरेको छ । कार्यपालिकाको बैठकले लक्षित वर्गका विद्यार्थीको शिक्षामा पहुँच पु-याउन निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय गरेसँगै यसलाई कार्यान्वयनमा ल्याइएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकालका अनुसार नगरपालिकाभित्र बसोबास गरेर उच्च शिक्षा हासिल गर्ने विपन्न वर्गका विद्यार्थीलाई सार्बजनिक यातायातमा निःशुल्क गरिएको हो ।

यसका लागि यातायात व्यवसायीसँग सम्झौता भई कार्यान्वयनमा ल्याइएको उनले बताए । अहिले पालिकाले विपन्न वर्गका विद्यार्थीका लागि आर्थिक अभावका कारण शिक्षाको पहुँचबाट वञ्चित बन्नु नपरोस् भनेर यो कार्यक्रम ल्याएको उनले जानकारी दिए । माडी क्याम्पस वसन्तपुर, दिवाकर स्मृति बहुप्राविधिक विद्यालय र दश जोड दुई सञ्चालनमा आएका चार वटा माध्यमिक विद्यालयमा अध्ययनरत छ सय हाराहारी विद्यार्थी यो निर्णयबाट लाभान्वित बनेको उनले बताए ।