अनुमतिविना विद्यार्थी भर्ना गर्दै , कारबाही गर्ने आयोगको चेतावनी

36

काठमाडौं । चिकित्सा शिक्षा आयोगबाट अनुमति नलिई केही शिक्षण संस्थाले भर्ना आह्वान गरेको पाइएको छ । आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै अनुमति प्राप्त नगरी केही शिक्षण संस्थाले विभिन्न विधाहरुमा भर्ना आह्वान गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘विद्यार्थी, अभिभावक र सम्बन्धित सरोकारवालाहरुलाई आयोगबाट मान्यता प्राप्त नभएका संस्थामा भर्ना नगर्नु नगराउनु हुन अनुरोध छ,’ जारी विज्ञप्तिमा भनिएको छ । साथै, अनुमति नलिई भर्ना गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने आयोगले स्पष्ट पारेको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घलाटेमा सञ्चालित सुवल इन्टरनेसनल कलेजले एमबीबीएस लगायत स्नातक तहका कार्यक्रमहरु सञ्चालनका लागि भर्नाको लागि सूचना जारी गरेको र उक्त कलेजले चिकित्सा शिक्षा आयोगको स्वीकृति नलिएको आयोगले जनाएको छ ।