सुत्केरीलाई पाँच हजार भत्ता दिन सुरु

34

कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो ।

नगरपालिकाको आव २०७९-८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिए । नगरप्रमुख अधिकारी र उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगर अस्पतालमा पुगेर संयुक्तरुपमा सुत्केरीलाई भत्ता वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलका अनुसार मङ्गलबार र बुधबार दुई दिनमा ३१ सुत्केरीलाई भत्ता वितरण गरिएको छ । नगरभित्रका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा भत्ता वितरण गर्ने गरिएको पौडेल बताउँछन् । नगरपालिकामा गैँडाकोट नगर अस्पताल र गैँडाकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् ।