फिफा विश्वकप: आज २ खेल एउटै समयमा हुने

21

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा समूह ईका स्पेन र जापान तथा जर्मनी र कोस्टारिकाबीचको २ खेल आज एउटै समय राति पौने १ बजे हुने छ । जारी विश्वकपको यो नै एउटा त्यस्तो समूह हो जसमा दुई पूर्व विजेता छन् ।

विश्वकपअघि २०१० को च्याम्पियन स्पेन र २०१४ को च्याम्पियन जर्मनीलाई यस समूहबाट नकआउट चरण पुग्ने टिमको रुपमा हेरिएको थियो । तर समूह चरणमा हरेक टिमले दई दुई खेल खेलेपछि यस समूहको खेल रोमाञ्चक बनेको छ ।

यो समूहको पहिलो खेलमै जर्मनी जापानसँग स्तब्ध भयो, स्पेनले कोस्टारिकाको पोष्टमा ७ गोल गर्‍यो भने अर्को खेलमा कोस्टारिकाले जापानलाई हरायो ।

आज अन्तिम खेल खेल्न लागेका यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने सम्भावना भने कायम छ ।

आजराति स्पेन र जापान तथा जर्मनी र कोस्टारिकाबीच हुने खेलपछि अगाडि बढ्ने र बाहिरिने टिमको टुङ्गो लाग्नेछ । यस समूहमा एक जित र एक बराबरीबाट ४ अंकसहित स्पेन शीर्ष स्थानमा छ । जापान र कोस्टारिकाको समान ३ अंक छ र क्रमश: दोस्रो र तेस्रो स्थानमा छ । दुवैले एक खेल जित्दा एक खेल हारेका थिए । यस्तै एक बराबरीबाट १ अंक जोडेको जर्मनी पुछारमा छ ।

यस समूहबाट स्पेन सहज अवस्थामा देखिन्छ भने जर्मनीलाई धेरै दबाब छ । जापान र कोस्टारिका भने आफू अनुकुल नतिजाको पर्खाईमा छन् ।