मैले जित्ने पक्का छ: किरण

59

काठमाडाैँ । नेकपा एमालेबाट काठमाडाैँ‍- १ का प्रतिनिधिसभा सदस्य उमेदवार किरण पौडेलले अन्तिम समयमा आएर एमालेले रवीन्द्र मिश्रलाई समर्थन गर्छ भन्ने हल्लामा कुनै सत्यता नभएकाे बताएका छन्। बिहीबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसले यस्ताे खालकाे भ्रम फैलाएकाे र यसमा कुनैपनि सत्यता नभएकाे बताएका हुन्।

‘किरण पौडेलले अन्तिम समयमा आएर रवीन्द्र मिश्रलाई समर्थन गर्छ भन्ने भ्रम फैलाइएको छ। त्यो झुठो हो, त्यो भ्रम कांग्रेसले फैलाएको छ।  म फेसबुक र टिकटकबाट तयार पारिएको कलाकर्मी हैन’, पाैडेलले भने।

उनले आफ्नाे कुरामा विश्वास नलागे राजेन्द्र लिङ्देनलाई साेध्न आग्रह गरे। पाैडेलले भने,  ‘‍एमालेको केन्द्रीय कमिटी र एमालेको बलियो भातृ संगठनकाे बहालवाला अध्यक्ष हो। मैले राप्रपालाई समर्थन गर्न खोजेको छैन। विश्वास नलागे राजेन्द्र लिङ्देनलाई सोध्नूहाेस्।’

यसका साथै उनले कांग्रेसका नेता गणेशमान सिंहकाे स्मरण गर्दै अहिलेकाे कांग्रेसले भ्रम फैल्याएकाे तर यदि गणेशमान भएकाे भए पार्टीभन्दा पनि युवालाई समर्थन गर्ने बताए।

‘आज गणेशमान सिंह बाँचिरहेको भए आफ्नो छोरा प्रकाशमानलाई ब्याक हटाएर हामी युवालाई समर्थन गर्नुहुन्थ्यो होला। वर्षाैँदेखि किल्ला गाडेकाे वा नेताको मुटुमा किल्ला गाडेको छ, त्यो चुनावले देखाउनेछ’, उनले भने।

प्रतिस्पर्धी कांग्रेस नेता प्रकाशमान सिंहलाई लक्षित गर्दै पाैडेलले भने, ‘गणेशमान सिंहको लिगेसीको कारण प्रकाशमान सत्तामा पुगे। विकास गरेनन्। उनकाे कमजोरीको दाग हामीले भोग्नु परेको छ। तर, हामी पार्टीभन्दा माथि रहेर जनताको सेवा गर्छौँ।’ कांग्रेसले विपी र गणे मानको सिद्धान्त छाडेर युवालाई प्रतिनिधित्व गर्दै आएको आफूलाई हराउन नकारात्म भ्रम फैलाएकाे उनकाे आराेप छ।

‘म चुनाव जित्ने पक्का भएकाले मेरोविरुद्ध कांग्रेस लागेको छ। क्षेत्र नम्बर १ का भूमिहीन मतदाताको मनोभावनामा प्रकाशमान सिंह खेले’, पाैडेलले भने। साथै उनले भूमिहीन समुदायको भावनामाथि खेल्दा प्रकाशमानको नाम राजनीतिमा इतिहासको पानामा सीमित हुने पौडेलले चेतावनीसमेत दिए।