सिद्धिपुरमा महापरित्राण पाठ

76

ललितपुर ।  ललितपुरको सांस्कृतिक बस्ती सिद्धिपुरमा विहीबार महापरित्राण पाठ कार्यक्रमको आयोजना गरियो । देशमा शान्ति र मैत्रीको कामना गर्दै भिक्षुसंघले महालक्ष्मी नगरपालिका– ६ सिद्धिपुरस्थित सिद्धिमंगल बुद्ध विहारमा दिनभर पाठ गरेका हुन् । सोही विहारका उपासक नाति महर्जन र नानीमाया महर्जनको आहवानमा विहारले सो पाठ कार्यक्रमको आयोजना गरेको थियो।

महापरित्राण पाठको श्रवणबाट मानसिक सुख प्राप्तिसंगै ज्ञान र ध्यानको अभ्यासमा टेवा पुगोस् भनेर महापरित्राण पाठ आयोजना गरिएको विहारका प्रमुख भिक्ष विमलोले बताउनुभयो । उहाँले भन्नुभयो ‘ २१ औं शताब्दीको मानिस वैज्ञाानिक सोच, खोज, सञ्चार प्रविधिको प्रयोगसंगै ज्ञानवान र ध्यानी बनेर मानवीय मूल्य र मान्यता विकासले शान्तिपूर्वक जीवन जिउ“न सकोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।’

भगवान बुद्धको वचनलाई २५ सय वर्ष अघि मगधमा प्रचलित मागधि भाषा, पाली भाषामा रहेको १२ वटा सुत्रहरुको संग्रह नै परित्राण हो । त्यसमा मानव जीवन उन्नति हुने कारणहरु रहेका मंगल सूत्र, भय, अन्तराय हटाउने उद्देश्यले पाठ गर्ने रत्न सुत्र, सकारात्मक सोच वृद्धि हुने मैत्री सुत्र लगायत सुत्रहरु रहेका छन् । लोकहितको कामना गरी शुद्ध चित्तले पाठ गर्ने र श्रवण गर्नाले ठूलो पूण्य मिल्ने विश्वास रहेको छ । परित्राणको पाठ र श्रवण गर्नाले चारै दिशाबाट उत्पन्न हुने भय, रोग, व्याधी, अशान्त हट्ने जनविश्वास रहेको छ ।

थाईल्याण्ड,श्रीलंका, म्यानमार, भारत, चीन, कम्बोडिया लगायत देशहरुमा धेरै वर्ष अघिदेखि महापरित्राण पाठ गर्ने परम्परा रहेको छ । आकर्षक मण्डप बनाएर १२ वटामा थप सुत्रहरु पाठ गर्ने हुनाले महापरित्राण पाठ भनिएको भिक्षु विमलोले बताए ।

शुद्ध चित्तका साथ बुद्ध पुजा तथा परित्राण पाठ र श्रवण गर्ने कार्यले मानसिक आनन्द प्राप्तिसंगै सकारात्मक सोच, परिवार, समाज र राष्ट्रमा शान्ति स्थापना गर्न टेवा पु¥याउने दाताहरुको विश्वास रहेको छ ।