मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैन: थपलिया

24

काठमाडाैँ । निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार यस्तो आह्वान गरेका हुन्।

सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यसविपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘म आदरणीय मतदाताहरूमा विशेष अनुरोध गर्न चाहन्छु- निर्वाचन आयोगद्वारा प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका सम्पूर्ण बालिग मतदाताहरूले कसैको डर, त्रास, धाक, धम्की, अवरोध अथवा कुनै पनि किसिमको प्रलोभनमा नपरी गोप्य रूपले आफ्नो मताधिकार प्रयोग गर्नूहाेला। याे तपाईंहरूकाे अधिकार हो। मतदान गर्न पाउनु अधिकार मात्रै होइन। आफ्नो प्रतिनिधि छान्ने यो अवसर प्रयोग गर्नु हरेक मतदाताको कर्तव्य पनि हो। मतदान प्रक्रियाको गोप्यता भंग भयो भने मतपत्र गणना हुँदैन। यतिमात्र नभइ सम्बन्धित मतदान अधिकृतले कानुन बमोजिम त्यही केन्द्रमै निज व्यक्तिलाई दण्ड सजाय गर्नसक्ने व्यवस्था छ। त्यसैले गाेपनीयता कायम गर्नूपर्छ।’

उनले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमासमेत अफ्ठ्याराे पर्नसक्ने खतरा रहेको पनि बताए।