विश्वकप प्रत्यक्ष प्रसारण विवाद: आज पहिलो नम्बरमा सुनुवाइ

100

काठमाडाैँ । आगामी ४ मंसिरबाट सुरु हुने विश्वकप फुटबलका लागि नेपालमा प्रसारण अधिकार खरिद गरेको मिडिया हबले उपभोक्ताबाट पनि शुल्क असुल्न खोजेको भन्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सोमबार हुने भएको छ।

यसअघि शुक्रबार र आइतबारका लागि पेशी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दै आएको विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको मुद्दा आज भने पहिलो नम्बरमा नै रहेपछि सुनुवाइ हुने सम्भावना बढेको छ।

सोमबारको पेशी हरि फुयाल र विश्म्भर श्रेष्ठको इजालासमा तोकिएको छ। दक्षिण एसियाका लागि प्रसारण अधिकार खरिद गरेको भायोकम १८ बाट नेपालका लागि मिडिया हबले प्रसारण अधिकार खरिद गरेको थियो। मिडिया हबले यो पटक प्रसारणका लागि महँगो मूल्य तिरेर खरिद गरेको भन्दै विज्ञापनबाट मात्र लागत उठ्न नसक्ने भन्दै उपभोक्ताबाट पनि पैसा उठाउने निर्णय गरेको थियो।

मिडिया हबले हरेक सेटअप बक्सबाट ५०० रुपैयाँ उठाउने सूचना गत ४ कात्तिकमा प्रकाशित गरेपछि त्यसविरुद्व अधिवक्ताहरू किशोर पौडेल र अनुपम भट्टराईले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सर्वोच्चले २२ कात्तिकमा अन्तरिम आदेश माग गर्दै परेको रिटविरुद्ध ३० कात्तिकमा छलफलमा बोलाउँदै त्यतिन्जेलसम्मका लागि सबै प्रक्रिया यथास्थितिमा राख्न भन्दै अल्पकालीन आदेश दिएको थियो।

त्यसविरुद्ध मिडिया हबले आफूलाई बोलाएको समयमा निर्णय भएको खण्डमा पनि समय अपुग हुने भन्दै सर्वोच्च अदालतमा बिहीबार भ्याकेट निवेदन दर्ता गरेको थियो। उक्त मुद्दा अदालतले दर्ता गर्दै शुक्रबार पेशी तोकेको थियो। शुक्रबार हेर्न नभ्याइनेमा परेपछि आइतबारका लागि पुनः न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र मनोजकुमार शर्माको इजालासमा पेशी तोकिए पनि आइतबार पनि मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।