जनताले मलाई सरकारकाे नम्बर वान बनेकाे हेर्न चाहेका छन्: सिंह

117

काठमाडाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको दावी गरेका छन्। सोमबार बिहान काठमाडौँ महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले साे दावी गरेका हुन्।

‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्वर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्,’ सिंहले भने। आफूले क्षेत्र नं. १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा बताए।

अहिलेको अर्थतन्त्रको संकट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहने भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने पनि बताए। अब आफ्नो सम्पूर्ण ध्यान स्थायीत्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने नेता सिंहकाे भनाइ छ।

मुलुक विशिष्ट परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले अग्रगमनको पक्षमा कि प्रतिगमनको पक्षमा मत दिने भनेर विचार पुर्‍याउन आह्वानसमेत गरे।