कांग्रेसका सभापति देउवा र एमाले अध्यक्ष ओली पुगे सुदूरपश्चिम

141

धनगढी । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावको प्रचारप्रसार गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपि शर्मा ओली सुदूरपश्चिम पुगेका छन् । प्रधानमन्त्री देउवा बुधबारदेखि सुदूरपश्चिममा रहेका छन् भने एमाले अध्यक्ष ओली बिहीबार बेलुका सुदूरपश्चिम पुगेका हुन् ।

देउवाले बिहीबार आफ्नाे गृहजिल्ला डडेल्धुरा सदरमुकाममा चुनावी सभालाई सम्बाेधन गरेका हुन् । उनले आज पनि जिल्लाका दुई ठाउँमा चुनावी सभालाई सम्बाेधन गर्दै छन् ।

एमालेले शुक्रबारदेखि दार्चुलाबाट चुनावी सभाको सुरुवात गर्ने भएको छ । प्रदेश र प्रतिनिधि सभा सदस्यका उम्मेदवारको पक्षमा मत पार्न सत्ता गठबन्धन र एमालेका नेताहरू चुनावी सभामा केन्द्रित भएका हुन् । बिहीबारदेखि चार दिनसम्म कांग्रस पार्टी सभापति देउवाले डडेल्धुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने तय भएको छ ।

यस्तै, नेकपा एमालेका अध्यक्ष ओलीले शुक्रबार एकैदिन तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले अध्यक्ष ओलीले शुक्रबार दार्चुला, बैतडी र कञ्चनपुर पुगेर नेकपा एमालेका चुनावी सभालाई सम्बोधन गर्ने तय भएको हो । एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति देउवाले हेलिकोप्टर प्रयोगको अनुमति लिएर चुनावी सभामा निस्किएका हुन् ।