Friday, October 16, 2026
Home राजनीति भक्तपुर–२ मा एमालेको घरदैलो अभियान सुरु

भक्तपुर–२ मा एमालेको घरदैलो अभियान सुरु

94

भक्तपुर, १७ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला भक्तपुर क्षेत्र नं. २ को घरदैलो कार्यक्रम आजदेखी सुरु भएको छ ।
क्षेत्र नं. २ अन्तरगत जिल्लाको मध्यपुर थिमी नगरपालिका र सूर्यविनायक नगरपालिका गरी दुई वटा पर्दछन् । एमाले क्षेत्र नं. २ प्रचार प्रसार समितिले आजदेखी दुई वटै नगरपालिकामा घरदैलो कार्यक्रम सुरु गरेको छ ।

आज विहान मध्यपुर थिमी नगरपालिकाको वडा नं. १ बाट एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम शुरु गरेका हुन् । क्षेत्र नं. २ को लागि एमालेको तर्फबाट पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत तथा प्रदेश ‘क’ सूर्यविनायकमा किरण थापा र ‘ख’ मध्यपुरमा चन्दनकृष्ण श्रेष्ठको उम्मेदवारी रहेको छ । उहाँहरुको संयुक्त उपस्थितीमा घरदैलो कार्यक्रम शुरु गरिएको हो ।

कार्यक्रममा स्थानीयवासीले उम्मेदवारहरुलाई टोल टोलमा रहेका समस्या तथा गुनासोहरु व्यक्त गरेका थिए । उक्त क्रममा उम्मेदवारहरुले जन चाहना अनुसारका विकासका कार्यहरु पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, प्रदेश समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

यस्तो छ एमाले क्षेत्र नं. २ को घरदैलो कार्यक्रम तालिका
विहान मध्यपुर र दिउँसो सूर्यविनायक नगरपालिकाभित्र घरदैलो कार्यक्रम रहेको समितिले जानकारी दिएको छ । त्यस्तै समितिले मध्यपुर क्षेत्रमा १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा नं. ५, २२ गते वडा नं. ६, २३ गते वडा नं. ७, २४ गते वडा नं. ८ र २५ गते वडा नं. ९ घरदैलो कार्यक्रम गर्ने जनाएको छ । मध्यपुर क्षेत्रमा दैनिक रुपमा हुने घरदैलो कार्यक्रम विहान ७ बजेदेखी हुने समितिले जानकारी दिएको छ ।

त्यस्तै सूर्यविनायक क्षेत्रमा आज दुई बजे वडा नं. १ मा घरदैलो कार्यक्रम हुने बताइएको छ । सूर्यविनायक नगरपालिका क्षेत्रमा १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा न. ५, २२ गते वडा नं. ६, २३ गते वडा नं. ७, २४ गते वडा नं. ८, २५ गते वडा नं. ९ मा दिउँसो २ बजेदेखी घरदैलो हुने समितिले जानकारी दिएको छ । यस्तै २६ गते विहान सूनपा वडा नं. १० मा घरदैलो कार्यक्रम तय गरिएको समितिले जनाएको छ ।