भक्तपुर । नेकपा एमालेका पोलिटब्युराे सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं.२ प्रतिनिधिसभाको एमालेको उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको होलीडे मनाएको भन्दै आक्रोश जनाएका छन्।
नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं.५ ले आइतबार आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै नेता बस्नेतले दिगो विकासको लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासाेन्मुख राष्ट्रको रूपमा स्थापित गराएको स्मरण गराए।
ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकसित बनाउने अभियान चलाए तापनि वर्तमान गठबन्धन सरकारले विकासको बिदा मनाइरहेको दावी गरे।
मंसिर ४ पछि एमाले सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने बताए।
नेता बस्नेतले भने, ‘केपी ओली नेतृत्वको सरकारले साना तथा ठूलो र राष्ट्रिय गौरवका आयोजनाहरू व्यापक मात्रामा चाहेको थियो। विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरूले जताततै लहर नै छाएको थियो। तर गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न पाएका छैनन्। यो सरकार आएसँगै आयोजनाहरू रोकिएका छन्, जनताले विकास देख्न पाएका छैनन्। विकास र मुलुकमा नै होलीडे बनेको छ। सरकारलाई विकासको त क्यान्सर नै लागेको छ। आगामी मंसिर ४ गते गठबन्धनलाई जरैदेखि उखेलेर फाल्नुपर्छ। त्यस पछि एमालेको सरकार बन्ने छ। जसले विकासप्रति जनताको तीव्र चाहनालाई पुरा गर्नेछ।’
निर्वाचनमा एमालेको प्रतिष्पर्धी कुनै पनि पार्टी नभएको उल्लेख गर्दै उनले एमालेले चुनाव लड्नको लागि नभई जीतको औपचारिक घोषणाको लागि मात्र मंसिर ४ गते पर्खिएको उल्लेख गरे।
एमाले नेतृत्वको सरकारको पालामा राष्ट्रियताको सवालमा विश्वलाई नेपालको शिर उचो बनाएको स्मरण गराउँदै नेता बस्नेतले ओली नेतृत्वको सरकारले लिपुलेक, लिपिम्याधुरा र कालापानीसहितको चुच्चे नक्सालाई अहिलेको सरकारले बुच्चे बनाएको आरोपसमेत लगाए।