विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले १५ किलो गाँजा बरामद गरेको छ । गाउँपालिका- २ भाथीगछस्थित बाँसको झ्याङमा लुकाएर राखेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलीले शुक्रबार १५ किलो गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठका अनुसार शुक्रबार बिहान करिब साढे ५ बजे गाँजा बरामद गरेको जानकारी दिए ।
प्रहरीले सो स्थानमा गाँजा लुकाउने व्यक्तिको खोजी तीव्र बनाएको उनले जानकारी दिए । सुरक्षा निकायलाई छलेर नेपालबाट भारततिर अवैध तरिकाले लैजाने क्रममा बाँस झ्याङमा लुकाएको हुनसक्ने उनको भनाइ छ । प्रहरीले बरामद गरेको गाँजा इलाका प्रहरी कार्यालय रानीमा ल्याएर थप अनुसन्धान अघि बढाइएको छ ।