काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफाेन सम्वाद गर्नका लागि १ लाख ७१ हजार ७ सय जनाले नाम र नम्बर टिपाएका छन् । ओलीले सामाजिक सञ्जालमार्फत दिएकाे जानकारी अनुसार उनीसँग कुरागर्न आज बिहीबार दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका हुन् ।
ओलीले आफूसँग कुरा गर्नकाे चाहानेले फेसबुक पेजमा नाम र नम्बर छाड्न अनुराेध गरेपछि उनीसँग कुरा गर्न चाहानेले पेजमार्फत टिपाएका हुन् । टेक्नाेलाेजी फ्रेन्ड्ली मानिने ओलीले यस कार्यलाई ‘कल केपी बा’ नाम दिएका छन् ।
उत्साहपूर्ण सहभागीताकाे लागि धन्यवाद भन्दै सामाजिक सञ्जाल फेसबुकका ओली लेख्छन्,’मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद। धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । भोलि हाम्रो कुराकानी हुनेछ । हामी तयार छौँ नि ?’
संवादमा ओलीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे पार्टीका धारणा र एजेन्डा प्रस्तुत गर्ने भएका छन्। उनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिवेटमा सहभागी हुन आह्वान गरेका थिए । तर देउवाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।














