नेपाल एयरलाइन्सको कर्मचारी न्यौपाने सम्पर्कविहीन

34

सिमकोट । नेपाल एयरलाइन्सको बाजुराको कोल्टी विमानस्थलमा कार्यरत एक जना कर्मचारी सम्पर्कविहीन रहेको पाइएको छ। एयरलाइन्सले कोल्टीका लागि उडान भर्नुपर्ने भए पनि दरबन्दीका कर्मचारी सम्पर्कमा नआई बेखवर भएपछि एयरलाइन्सलाई उडान भर्नसमेत कठिन भएको हो।

नेपाल एयरलाइन्स नेपालगञ्जका प्रमुख किरणमान श्रेष्ठले कोल्टी विमानस्थलका लागि दरबन्दीका कर्मचारी उमाकान्त न्यौपाने आफ्नो सम्पर्कमा नआउँदा काम गर्न कठिन भएको बताए। उनी जुम्लाका स्थायी बासिन्दा हुन्। उनले सम्पर्क गर्न खोजे पनि नहुने र सम्पर्क भए पनि मोबाइल नउठ्ने भएका कारण काम गर्न कठिन भएको बताए।

कर्मचारीबारे जानकारी नभए पनि बाजुराका प्रमुख जिल्ला अधिकारीलाई समेत यो खबर जानकारी गरिएको छ। दरबन्दी कोल्टीको भए पनि यसअघि अघिल्लो कार्यालय प्रमुख हुँदा नेपालगञ्जबाटै काम गर्दै आए पनि हाल भने उनी कार्यालयसँग सम्पर्कविहीन रहेको उनले बताए। न्यौपाने कता छन् थाहा पत्तो नभएको भन्दै श्रेष्ठले यसले गर्दा कोल्टीका लागि उडान भर्नसमेत कठिन भएको बताए।

उनले स्थायी जागिर भएको दम्भ देखिएर बेखबर बस्न खोजेको भए, उनका लागि त्यो प्रत्युत्पादक हुने उनले बताए। बाजुुरा जिल्ला प्रशासन कार्यालयलाई समेत आफूले जानकारी गराएकाले अब आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनेतर्फ आफू लागेको उनले बताए। न्यौपानेको मोबाइल नम्बर ९८४८३२७३९९ मा पटक पटक सम्पर्क गर्दा मोबाइलसमेत उठेको थिएन तर धेरै कल गरिसकेपछि उठाएका उनले काम गरिरहेको बिदामा घर गएको जवाफ दिएका थिए। तर, उनको यो जवाफप्रति प्रमुख श्रेष्ठ सहमत छैनन्।