पोखरा । खेलाडीहरूको आफ्नै कथा व्यथा रहेका छन् । कतै खेलाडीले कीर्तिमान कायम गरेका छन त कतै उपाधि चुमेका छन् । नवौं राष्ट्रिय खेलक्ुद प्रतियोगिताअन्तर्गत शनिबार महिला ह्यान्डबलको फाइनल खेल भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई १७–१६ ले हरायो ।
एपीएफलाई हराउने टोलीमा थिइन् २८ वर्षीया रञ्जु रावत । उनले आफुले जितेको स्वर्ण आफ्नो छोरीलाई लगाइदिएकी छिन् । ११ महिने छोरीलाई समेत काखमा च्यापेर प्रतियोगितामा सहभागिता जनाएकी उनी आर्मीको महत्वपूर्ण खेलाडीसमेत हुन् । आफ्नो दुध खाँदै गरेको शिशुलाई छाडेर खेल खेल्नु कठिन हुन्छ । उनी खेल मात्रै खेलिनन् टिमलाई स्वर्ण दिलाउन महत्वपूर्ण योगदानसमेत दिइन् ।
२०७२ सालदेखि निरन्तर ह्यान्डबलमा लागेकी उनी सुरुमा नखेल्ने सोचमा थिइन् तर टिमलाई खेलाडीको खाँचो भएपछि नकार्न सकिनन् । सातौं राष्ट्रिय खेलकुद देखी आफूलाई प्रतिनिधित्व गराएकी उनले दुई दिन अघिसम्म आफँै छोरी हेर्ने गरेकी थिइन् । टिमले सेमिफाइनलको यात्रा तय गरेपछि भने उनका श्रीमान्ले बिदा मिलाएर श्रीमतीलाई सहयोग गर्न आए ।
‘मेरो श्रीमान् पनि आर्मी हुनुहुन्छ । अस्तिसम्म म आफैँले नानीलाई हेरेको थिएँ । मेरो खेल हुँदा दाइहरूले हेरिदिनुभयो । अस्तिबाट चाँहि हल्का भयो’ उनले भनिन्,‘मलाई खेलकुदमा निकै चाख लाग्छ । मेरो घरपरिवाले पनि मलार्ई हौसला दिनुभयो । जाउँ म हेरिदिन्छु भन्छन् ।’ घर परिवारले छोरीको स्याहार सुसार गर्ने बताए पनि उनको मनले नमानेपछि छोरीलाई काखमा च्यापेर आइन् ।
उनले आफ्नो जित नभई छोरीको जित भएको बनाइन् । ‘मलाई होप थियो कि हामीले एपीएफलाई जित्छौँ भन्ने । जे होस् हामीले जित्यौं । खुसी लागेको छ । आगामी वर्ष पनि जित्छौँ । यो मेरो छोरीको लागि हो ।’