नेप्से परिसूचक वृद्धि

25

काठमाडौँ । साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ। बिहीवार नेप्से परिसूचक ४.१५ अंक बढेर १८७०.६३ बिन्दुमा बन्द भएको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.९५ अंक, फ्लोट इन्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३१ अंकले बढेको छ।

बिहीवार कारोबारमा आएका २२२ कम्पनीको २६ लाख ९८ हजार कित्ता सेयर ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको खरिद–बिक्री भएको छ। बुधवारको तुलनामा बिहीवार कारोबार रकममा सामान्य सुधार भएको छ। बुधवार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। जसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.५३ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक १ प्रतिशत बढेको छ।

बिहीवार अभियान लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, रुरु जलविद्युत् परियोजनाको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। यता, सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य ४.४५ प्रतिशत घटेको छ। आज नबिल बैंकको ३ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।