वीरगञ्ज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। मन्त्री यादवले पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन्।
जनता समाजवादी पार्टीको तर्फबाट उनले उम्मेदवारी दिएका हुन्। नेकपा एमाले र जसपाबीच भएको गठबन्धनअनुसार क्षेत्र नम्बर १ र २ जसपाले पाएको छ।
यादव २०७४ को निर्वाचनमा जसपाबाटै निर्वाचित भएका थिए। उम्मेदवारी दर्ता गरिसकेपछि मन्त्री यादवले जुन पार्टीसँग गठबन्धन गरेर चुनाव लडे पनि मधेसी जनताको हक अधिकारको लागि आफूले लडाइँ जारी राख्ने बताए।
उनले मधेसी पार्टीसँग बहुमत नभएका कारण मधेसको हक अधिकारको लागि आफूहरुले बेलाबेलामा एमाले, कांग्रेस र माओवादीसँग गठबन्धन गर्नुपरेको जिकिर गरे।
आफूले गरेको विकासलाई हेरेर जनताले फेरि पनि आफूलाई भोट दिने यादवले विश्वास व्यक्त गरे।