सिटौलाको दायाँ-बायाँ गगन र प्रदीप भएपछि…..

335

चैत ३,
काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १३ औँ महाधिवेशनका सारथी आफूसँगै रहेको सन्देश दिएका छन् । पार्टी सभापति शेर बहादुर देउवाले विभाग गठन र केन्द्रीय तथा आमन्त्रित केन्द्रीय सदस्यको मनोनय गर्दा सिटौला समूहका केही नेताहरुले संस्थान पाएका थिए । देउवाको निर्णय र पौडेलको अभिव्यक्तिबारे केही दिन मौन रहेको सिटौला सोमबार काठमाडौंको बत्तिसपुतलीमा १३ औँ महाधिवेशनका सारथीलाई भेला गराए । भेलामा गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईँ सांसद भीमसेनदास प्रधान, नेतृ धना खतिवडा, मुक्ता यादव, नेविसंघका महामन्त्री बलदेव तिमिल्सेना, पूर्वमहामन्त्री कुन्दराज काफ्लेलगायत करिब २०० कार्यकर्ताको उपस्थिति रहेको थियो । यद्यपि, उनी उमाकान्त चौधरी भने गृह बारामा रहेकाले उपस्थित हुन सकेनन् ।

आफू निकट कार्यकर्ताको भेलामा देउवाले लिएको निर्णयबारे ठोस धारणा नराखेका सिटौलाले पौडेलको अभिव्यक्तिको खण्डन गरेका छन् । ‘हाम्रो समूहका सबै साथीहरू सबै एक ठाँउमा छन् । यो विस्तारित हुँदैछ । पार्टीलाई नेतृत्व दिएर समय सापेक्ष गति दिन सक्ने हाम्रो समूहको काम हो । आन्तरिक लोकतन्त्र बलियो बनाउने हाम्रो अभियान हो,’ गगन थापातिर हेर्दै सिटौलाले भने, ‘कसैले भने जस्तो कोही साथी छनौँ, सबै एकै ठाउँमा छौँ ।’ समय परिस्थितलाई बुझेर पार्टी र देश हाक्न सक्ने ताकत आफ्नो समूहसँग मात्र रहेको सिटौलाको दाबी छ । साथै उनले समयमै महाधिवेशन गराउने मुद्दालाई पार्टीभित्र जोडतोडका साथ लैजाने बताए ।

देउवाले केन्द्रीय सदस्य हुमागाईँलाई श्रमिक तथा ट्रेडयुनियन विभागको प्रमुख र सुधिर सिवाकोटीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएका थिए । यता, वरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यद्वय गगन थापा र प्रदीप पौडेलले सिटौला समूह छोडेर आफ्नो समूहमा आएको अभिव्यक्ति दिएको थिए ।