प्रमुख उपप्रमुखसहित १२ स्थानीय तहका अध्यक्ष/उपाध्यक्षलाई जरिवाना

46

वीरगञ्ज । पर्साको सदरमुकाम वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलमसहित जिल्लाका १२ स्थानीय तहका अध्यक्ष र उपाध्यक्षलाई निर्बाचन आयोगले जरिवाना गरेको छ। आयोगले उनीहरूलाई गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण नबुझाएकोले नगद जरिवाना गरेको हो।

जिल्लाको पोखरिया र बहुदरमाई नगरपालिकाका मेयर र उपमेयरलाई जनही साढे चार लाख जरिवाना गरिएको छ। नेकपा एमालेबाट निर्वाचित पोखरियाका मेयर प्रद्धुमन चौहान, उपमेयर रुबी कुमारी ठाकुरलाई जनही साढे चार लाख जरिवाना आयोगले गरेको छ।

यसैगरी, जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका बहुदरमाई नगरपालिकाका मेयर सिँगासन साह र एमालेबाट निर्वाचित उपमेयर सुष्मा कुमारी कुशवाहालाई पनि जनही साढे चार लाख जरिवाना आयोगले गरेको छ।

त्यस्तै, छिपहरमाइ गाउँपालिकाका अध्यक्ष मनोज कुमार र उपाध्यक्ष लिलापती देवी कानु, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिँह, धोबिनीका अध्यक्ष मदन चौहान र उपाध्यक्ष मँजु देबी, पकहा मैनपुरका अध्यक्ष सुरेश प्रसाद र उपाध्यक्ष सरफुन नेशा, बिन्दबासिनीका अध्यक्ष प्रमोद तिवारी, सखुवा प्रसौनीका अध्यक्ष जसवन्त यादव र उपाध्यक्ष शर्मिला विष्टलाई जनही साढे तीन लाख आयोगले जरिवाना गरेको छ।

यस्तै, कालिकामाई गाउँपालिका प्रमुख वशिष्ट गुप्ता, जिराभवानी गाउँपालिका प्रमुख अनोज चौधरी, जगरनाथपुर गाउँपालिकाकी उपप्रमुख बबिता सिंह, पटेर्वा सुगौली गाउँपालिकाकी उपप्रमुख ममता महतो, ठोरी गाउँपालिकाका प्रमुख लालबहादुर श्रेष्ठ र उपप्रमुख गोकुल कुमारी श्रेष्ठलाई पनि जरिवाना गरिएको छ। पटकपटक ताकेता गरी निर्वाचन खर्च बुझाउन आग्रह गरिए पनि खर्च नबुझाएकोले नगद जरिवाना गरिएको आयोगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हाे।

यसैगरी, आयोगले सोधेको स्पष्टीकरण समेत चित बुझ्दो नभएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हद अनुसार सोही ऐनको दफा २६ को उपदफा (१) बमोजिम साढे पाँच लाख जरिवाना गरिएको आयोगको भनाइ छ।