साउदीमा ५४ जना नेपालीको बिचल्ली

66
फाइल तस्बिर

दोहा । आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेका ५४ नेपाली युवा बिचल्लीमा परेका छन्। काठमाडौँको सिनामंगलमा रहेको ब्लु ग्यालेक्सी ओभरसिज प्रालिमार्फत करिब ५ महिना अघि साउदीको रियाद सुलाई अठार पुगेका उनीहरू सम्झौता अनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन्।
राम्रो कमाई हुने भनेपछि ब्लु ग्यालेक्सीका रमेश अमगाइन र श्याम हरि अर्याललाई प्रतिव्यक्ति १ लाख ६० हजारदेखि २ लाख ५० हजारसम्म बुझाएर इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनी पुगेको नवलपुरका प्रेमकुमार महतोले जानकारी दिए।

म्यानपावर कम्पनीले आफूहरूलाई साउदी आर्मी क्याम्प भित्र क्लिनरको काम र गार्डेनको कामका लागि भनेर साउदी पठाएको भएको थियो। तलब माग्न जाँदा कम्पनीले ५-६ सय साउदी रियाल दिने गरेको उनीहरूले बताएका छन्। ‘सम्झौता पत्रमा म्यानपावरले ८ घण्टाको १ हजार २ सय देखि १ हजार ४ सय साउदी रियाल तलब भनेर पठाएको भए पनि यहाँ काम गर्दा ५-६ सय मात्र दिन्छ, त्यो पनि समयमा दिँदैन् ,’महतोले थपे।
तलबै नपाए पछि विगत १० दिनदेखि काम पनि नगरी कोठामै बसिरहेको र तलब माग्दा कम्पनीले नेपाली कामदार चाहिँदैन भन्ने गरेको उनीहरूले गुनासो सुनाएका छन्। खबरहबबाट