काठमाडौं । मोरङ, उदयपुर, कैलाली र धनुषामा अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३ सय ५० ट्याब्लेट र स्पासपेन ९ सय ६० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय आसन राई लगायत २ जना छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त औषधी सहित पक्राउ गरेको हो । उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्कुलबारीबाट करिव एक केजी गाँजासहित सोही ठाउँ बस्ने ५९ वर्षीया लामु शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट एक केजी चरेश सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिनेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो । धनुषाको जनकपुर उपमहानगरपालिका–२२ बसबिट्टीबाट एक केजी ५ सय ग्राम गाँजा र ६८ हजार ९ सय ६४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ५५ वर्षीय खेलावन मुखियालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले मुखियाको घुम्ती किराना पसल जाँच गर्दा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।