दर्ताबिनै मदिरा बिक्री गर्ने पसललाई कारबाही गरिने

85

सिमकोट – आन्तरिक कर कार्यालयमा दर्ताबिनै मदिरा बिक्री–वितरण गर्ने व्यवसायीलाई कारबाही गरिने भएको छ। बजार अनुगमन गर्ने क्रममा त्यसरी बिना दर्ता मदिरा बिक्री गरिएको पाइएपछि कारबाही गरिने भएको हो।

अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलका अनुसार बजार अनुगमनका क्रममा बिना दर्ता मदिरा बिक्री गरिएको पाइएकाले त्यस्ता व्यवसायीलाई कारबाही गर्ने अन्तिम चेतावनी दिएको छ। मदिराजस्तो वस्तुलाई बिना दर्ता बिक्री गरेको पाइएकाले एक हप्ता बिक्री दर्ता नभए कारबाही गरिने चेतावनी दिएको हो।

सिमकोटमा यस्ता पसल धेरै पाइएकाले अबको अनुगमनसम्म दर्ता नगरेको पाइए सीधै कारबाही गरिने भएको छ। उनले बिनादर्ता ठूलो परिमाणमा मदिरा बिक्री गरेर राज्यलाई कर घाटा लगाएको पाइएपछि कारबाहीको दायरामा व्यवसायीलाई ल्याइने बताए।

एक पटकका लागि चेतावनी दिएको र अर्को पटक त्यसरी मदिरा बिक्री गरेको पाइए कारबाही हुने भएको हो। वर्षौंदेखि दुुई दर्जनभन्दा बढी व्यवसायीले यसरी मदिरा बिक्री गरिरहेको सूचनाका आधारमा स्थानीय प्रशासनले बजार अनुगमन गरेको थियो। त्यसैगरी अनुगमनका क्रममा बिक्री उपभोगका लागि समय गुज्रेका १२ हजार मूल्यभन्दा बढीका पेय तथा जंकफुड बरामद गरी नष्ट गरिएको थियो।