काठमाडौँ । ताइवानलाई लिएर अमेरिका र चीनबीच जारी तनावका बीच इरानले चीनको ‘एक चीन’ नीतिलाई खुलेर समर्थन गरेको छ। इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलाहयनले पूर्वी एसियामा भइरहेको गतिविधिको सन्दर्भमा चीनसँग अमेरिकाले गरेको व्यवहारको निन्दा गरेका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीसँगको टेलिफोन वार्तामा उनले इरानले चीनको ‘एक चीन’ नीतिलाई कानुनी दायित्वका रूपमा पालना गरेकोमा जोड दिए। उनले इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा भएको वार्ताको पनि उल्लेख गरे। उनले सम्झौतामा पुग्न अमेरिकाको यथार्थपरक प्रतिक्रियाको आवश्यकता रहेको बताए।
चिनियाँ विदेशमन्त्री यीले दुई देशको हितअनुसार द्विपक्षीय सम्बन्ध विकास गर्ने कुरामा जोड दिए। चीनले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप भनेको छ। चीनले अमेरिकाले चीनको ‘एक चीन’ नीतिको उल्लंघन गरेको बताएको छ। चीनले आफ्नो एक चीन नीतिको समर्थनमा सयभन्दा बढी देश अगाडि आएको दाबी गरेको छ।
यसबाहेक इरानी विदेशमन्त्रीले हालै दुई देशका राष्ट्रपतिबीच भएको टेलिफोन वार्तालाई उपयोगी र ठोस भएको बताए। उनले द्विपक्षीय सम्झौताको पालना र कार्यान्वयन गर्न इरान र चिनियाँ अधिकारीहरूको संयुक्त प्रयासमा जोड दिए। दुवै पक्षले आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने र नाकाबन्दी हटाउने वार्तालगायत द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय हितका विषयमा छलफल गरेका थिए।














