खोलाको बाँध फुट्दा सयौँ बिघा खेत डुबानमा

193

काठमाडौँ । रुपन्देहीको तुरिया खोलाको बाध फुट्दा किसानको सयौँ बिघा खेत डुबानमा परेको छ । केही दिनदेखि परेको पानीका कारण पानीको सतह बढेपछि रोहिणी गाउँपालिका(५ को तुरिया बाँध फुटेको हो ।

बाँध बनेपछि हौसिएका किसानहरु धान खेती गरेका थिए । असार महिनामा निर्माण गरिएको बाँध एक महिना नबित्दै भत्केपछि उनीहरू अहिले निराश भएका छन् ।

तुरिया खोलामा १० लाखमा निर्माण भएको थियो । बाँध भत्किएर खोला खेतमा पस्दा ठूलो क्षेत्रफल डुबान भएको छ । बाँध भत्किएर खेतमा पसे पनि स्थानीय सरकारका कोही पनि प्रतिनिधि गाउँको अवस्था बुझ्न नआएको जिल्ला समन्वय समिति रुपन्देहीका निर्वतमान उपप्रमुख समेत रहेका स्थानीय पशुपति यादवले गुनासो गरे ।

उनले किसानको सयौँ बिघा जग्गा डुबानमा परे पनि विपद् ब्यवस्थापन समिति लगायतले लापरबाही गरेको आरोप लगाए । ‘वडा अध्यक्ष नै पालिकाको विपद् व्यवस्थापन समितिको अध्यक्ष छन् । तर, अहिलेसम्म उनी पनि आएका छैनन्,’ यादवले भने ।