काठमाडौँ । पोखरामा जारी महानगरपालिकाका मेयर तथा उपमेयरहरुको भेला आज समापन हुँदैछ। देशभरका ६ वटा महानगरपालिकाका मेयर तथा उपमेयरको हिजो सुरु भएको भेला आज सकिन लागेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको सचिवालयले देशसञ्चारलाई जानकारी दिएको छ।
सचिवालयका अनुसार भेला आज सकिनेभएपनि घोषणापत्र भने भोली मात्रै जारी गरिनेछ। सराङकोटमा जारी ‘मेट्रोमिट नेपाल’मा स्थानीय सरकार सञ्चालनका क्रममा उत्पन्न हुने समस्याबारे छलफल तथा मेयर/उपमेयरको सिकाइ आदान प्रदान भइरहेको छ। आज बैठकको निष्कर्षका रुपमा ‘पोखरा घोषणापत्र’ तयार पारेर भोली जारी गरिनेछ। भेलामा संघ, प्रदेश र स्थानीय सरकार सञ्चालनका क्रममा आइपर्ने जटिलताबारे पनि छलफल भइरहेको छ।
प्रमुख प्रकासकीय अधिकृत समेत सहभागी भेलाको पहिलो दिन शुक्रबार मेयर/उपमेयरहरूको सिकाइ आदानप्रदान, महानगरका मुख्य योजनाहरू तथा कार्यान्वयनका चुनौतीहरूको सम्बोधन, उपमेयरहरूले ऐनले निर्दिष्ट गरेका जिम्मेवारीको सम्बन्धमा अनुभवन तथा सिकाइ आदानप्रदान, प्रमुख प्रशासकीय अधिकृतहरूले विद्यमान ऐन, कानुन तथा तीनका कार्यान्वयनका चुनौतीहरूबारे छलफल भएको छ। आज थप छलफल गरेर निष्कर्ष निकालिनेछ।














