हेटौँडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नेपालमा हालको जनप्रतिनिधिको संख्या आवश्यक रहेको तर सेना, प्रहरी र निजामती कर्मचारीको संख्या धेरै भएकाले कटौती गर्नुपर्ने टिप्पणी गरेका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा हेटौंडामा आयोजित एक कार्यक्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका बानियाँले नेपाली सेना र निजामती कर्मचारीहरुको संख्या धेरै आवश्यक नरहेको बताए ।
उनले भने, ‘अहिले मान्छेले प्रदेशलाई अनेक कुरा गरेका छन् । प्रदेश बोझ भयो, यो भयो, त्यो भयो भनेका छन् । तर, नेपालका करिब २९ हजार जनप्रतिनिधिको जम्मा खर्च ३ अर्ब छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीको संख्या कति छ ? नेपाली सेना केको लागि धेरै चाहियो ? ई–गभर्नेन्सको कुरा गर्ने अनि निजामती कर्मचारी किन धेरै चाहियो ? यी कटौती गरौं ।