काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय समितिको बैठकमा अनुपस्थित भएको कुरामा समिति सभापति पवित्रा निरौलाले आसन्तुष्टि जनाएकी छन्। प्रधानमन्त्रीले अन्तिम समयमा आएर बैठकमा आउन भ्याउँदिन भनेर खबर पठाएपछि उनले असन्तुष्टि जनाएकी हुन्। उनले भनिन्, ‘संसदमा प्रधानमन्त्रीको धारणा नआएपछि हामीले यहाँ बोलाएको थियौँ। बैठकमा बोलाउँदा उहाँ आउनुहुन्छ भन्नेमा हामी ढुक्क थियौँ। उहाँ आउन नसक्ने कुरा अन्तिम समयमा बिहान ८ बजे मात्रै आयो। समयमा खबर नगर्नु संसदीय समितिको अपमान हो। हिजोसम्म खबर दिनुपर्ने हो। १० बजेको बैठक छ तर उहाँले आज ८ बजे खबर दिनुभयो। बिहान ८ बजे सचिवलाई फोन गर्नुभएको होइन, सचिवज्यूले गर्नुभएको रहेछ।’सभापति निरौलाले एसपिपीको विषयमा आधिकारिक ठाउँबाट प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताइन्। नेपालमा अमेरिकी सेनाले बुट बजार्ने कुरामा छलफल गर्न बोलाउदा प्रधानमन्त्री नआएको गुनासो गरिन्। ‘प्रधानसेनापति र पराराष्ट्रमन्त्रीले आफ्नो ठाउँबाट जवाफ दिइसक्नुभएको छ। नेपालमा अमेरिकी सेनाले बुट बजार्ने कुरा आइसकेको छ। यसले गर्दा सबैको मन रोएको छ । नेपाल स्वतन्त्र राष्ट्र हो, हामीले स्वतन्त्र राख्नुपर्छ। त्यसमा गम्भीर भएर छलफल गर्नुपर्ने हो’ उनले भनिन्, ‘नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो।’