नेकपाकै बैठकमा सरकारको चर्को विरोध

91

असार २१, काठमाडौं । सत्तारुढ नेकपाका सांसदहरुले भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले भारतीय दबावकै कारण निर्णय फिर्ता लिएको हो भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । प्रधानमन्त्री ओलीले भने दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको बताएका छन् । बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकमा नेकपा सांसदहरुले भारतीय दबावसामू सरकार झुकेको आरोप लगाएका थिए । भीम रावल लगायतका सांसदहरुले नेपालले विषादी जाँच्छु भन्दा भारतले नगर भन्नु र सरकार पछि हट्नु गलत भएको बताएका छन् । ‘कुनै देशले नजाँच भन्दैमा चुप लाग्नुपर्ने किन रु यसलाई मैले आश्चर्यका रुपमा लिएको छु’ बैठकपछि नेता रावलले भनेका छन् । बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने गर्न नहुने प्रतिक्रिया दिए ।

प्रधानमन्त्री ओलीले कसैको दबावले नभई पूर्वाधार नभएकाले निर्णय फिर्ता लिएको बताएका छन् । तरकारी तथा फलफूलमा विषादी भए नभएको जाँच गर्ने मेसिन छ छैन भने जानकारी नै नभएको भन्दै उनले भने, ‘राम्रो गर्न खोजेका थियौं तर समय भन्दा अगाडि नै थालिएछ’ उनले भने, ‘पूर्वाधार छ कि छैन थाहा भएन । जाँच गर्ने भनेर फाइल ल्याए, झ्याप्पै निर्णय गरेँ ।’

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सदनभित्र र बाहिर बोल्दा सांसदहरुले जानेर वा नजानेर सरकारको विरोध गरेकोमा असन्तुष्टि जनाए । ‘काम गर्दा कमजोरी भए आएर भन्नुस्, पार्टी कमिटीमा राख्नुस्’ उनले भनेका छन् । प्रधानमन्त्री ओलीले सत्तारुढ सांसदरुहरुले नै सरकारको विरोध गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सत्तारुढ दलका सांसदले संसदभित्र सरकारको विरुद्ध बोल्दैनन्’ उनले भनेका छन्, ‘सरकारको विरोध गर्नु संसदीय मर्यादा विपरित हो ।’ साथै संसद बाहिर पनि सरकारको विरोध गर्नुृ अनशासन उल्लंघन हुने उनले बताएका छन् ।