काठमाडौं । गत फागुन २६ गते पहिलोपटक जिल्ला वन कार्यालय मुगुमा आइपुगेको एउटा कुकुर तीन महिनादेखि तेही छ ।
कार्यालयका अनुसार तीन महिनाअघि प्रहरीले घोरल सिकार गर्ने तीन जनालाई मुगमकार्मारोङ गाउँपालिका–१, चितैकुनाबाट पक्राउ गरेको थियो। घोरल मार्दै गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा तीन जना पक्राउ परे भने एक जना फरार भए। ती फरार व्यक्तिले आफ्नो कुकुर अरू साथीहरूसँगै छाडेका थिए। प्रहरीले तीन जना सँगसँगै कुकुर पनि समातेर ल्याएको थियो।
वन्यजन्तुसम्बन्धी मुद्दामा अनुसन्धानको काम डिभिजन वन कार्यालयले गर्छ। घोरल सिकारको घटनामा पनि अनुसन्धान गर्न आरोपित व्यक्तिहरूलाई फागुन २६ गते डिभिजन वन कार्यालयको जिम्मा लगाइयो। त्यसै दिन कुकुर पनि वन कार्यालय आइपुग्यो। वन कार्यालयले कुकुर पनि सिकारमा प्रयोग भएको हो कि भन्ने शंका गरेको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २८ अनुसार सिकारी कुकुर प्रयोग भएको खुलेमा मुद्दा किनारा लाग्नुभन्दा अगाडि नै मार्न सकिने उल्लेख छ। तर त्यो कुकुर सिकारमा प्रयोग भए-नभएको खुलेन। वन कार्यालयले आफ्नो अनुसन्धान क्रममा कुकुरलाई प्रतिवादी पनि बनाएन।
वन कार्यालयले पक्राउ परेका तीन र फरारसमेत गरी चार जनाविरूद्ध मुद्दा चलायो। उनीहरू त्यही गाउँका चेम्पा तामाङ, टासी तामाङ, छिमेक तामाङ र दावा छोर्देन तामाङ हुन्। कुकुर चाहिँ दावा छोर्देन तामाङको हो। जिल्ला अदालत मुगुले जेठ १२ गते ती चारै जनालाई छाडिसकेको छ। डिभिजन वन कार्यालय मुगुका सूचना अधिकारी प्रनिल देवकोटाका अनुसार फरार अभियुक्त दावा अदालतमा उपस्थित भएका थिए। अदालतले उनी र चेम्पालाई ७० हजार रूपैयाँ धरौटीमा र अरू दुई जनालाई साधारण तारेखमा छाडेको थियो। धरौटीमा छुटेपछि पनि दावा सम्पर्कमा नआएकाले उनको कुकुर अझै वन कार्यालयमै रहेको देवकोटा बताउँछन्। BY-SETOPATI